ताजा अपडेट

रु १ लाखको सहयोग दिन वनमन्त्री शंकर भण्डारीले रु डेढ लाखको हेलिकोप्टर चढे पछि

ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् ।

मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेष्ट टेक्निसियन्स् एशोसिएशन अफ नेपाल (नेफ्टा) का महासचिव प्रेम सापकोटालगायत शाहीका परिवारलाई भेट्न र सहयोग रकम हस्तान्तरण गर्न नेपाली सेनाको हेलिकोप्टर लिएर मंगलवार जाजरकोटको दसेरा गाविस–८ गएका हुन् ।
विहान करिब ९ बजे सेनाको पाँच सिटे हेलिकोप्टर लिएर गएको मन्त्री भण्डारीको टोली साँझ पौने पाँच बजे मन्त्रालय फर्किएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘हेलिकोप्टर प्रयोगमा डेढ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ,’ स्रोतले भन्यो ।
मन्त्रालयका सहायक प्रवक्ता यज्ञनाथ दाहालले मन्त्री भण्डारी र महानिर्देशक आचार्यलगायतको टोलीले मंगलवार मृतक शाहीका परिवार वसोवास गरेको जाजरकोट पुगेर संवेदना र सहानुभूति प्रकट गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

महानिर्देशक आचार्यले सेनालाई आग्रह गरिए अनुसार हेलिकोप्टर उपलव्ध भएको र परिवारलाई समवेदना एवं सहयोग रकम दिएर काठमाडौं फर्किएको बताए । आचार्यका अनुसार मन्त्री भण्डारीले आफ्नै तलबबाट एक लाख रुपैयाँ परिवारलाई उपलव्ध गराएका हुन् ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले मन्त्रालयको आग्रह अनुसार आफूहरुले प्रक्रिया पुर्‍याएर हेलिकोप्टर उपलव्ध गराएको जानकारी दिए । ‘कुन काममा प्रयोग भएको हो त्यस अनुसार शुल्कको कुरा आउँछ,’ कार्कीले भने ।

मन्त्री भण्डारीले शाहीकी श्रीमतीलाई करार नियुक्तिको पत्रसमेत हस्तान्तरण गरेका छन् । शाहीको ताप्लेजुङ खोक्लिङ–८ को एक सामुदायिक वनको साधारणसभामा भाग लिन खटिएको बेला पुस १७ को बिहान खुकुरी प्रहार गरी हत्या भएको थियो । उनलाई गत बिहीबारको मन्त्रीपरिषदले पहिलो वन संरक्षण सहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

कान्तिपुर

२६ पुष २०७३

x

Check Also

साढे चार करोड रुपैयाँ कांग्रेसको १३औं महाधिवेशनको खर्च सार्वजनिक

नेपाली कांग्रेसले १३औं महाधिवेशन सम्पन्न गर्न साढे चार करोड रुपैयाँ खर्च गरेको छ। महाधिवेशन सम्पन्न भएको दस महिना बितेपछि कांग्रेसले बिहीबार निर्वाचन आयोगमा आर्थिक प्रतिवेदन ...