ताजा अपडेट

दोस्रो विश्वयुद्धपछिको विश्कै सबैभन्दा ठुलो संकट ‘सिरिया’ , बिदेशीशक्तिको चक्रव्यूहमा सिरिया !

आधा दशकदेखि बलिरहेको सिरिया जसलाई साम्प्रदायिक संघर्षले सक्दैछ 

र, बमहरू
खस्न थाले
बर्सिए तिनका
शिर र सदनमाथि ।

त्यसपछि हुन्छ अलिकति विलम्ब
मौनताको एउटा लघु–विश्राम
प्रयाप्त छ, उद्धारकर्तालाई
मृतक र घाइतेको उद्धार गर्न ।

तर, बमहरू
बर्सन्छन् बारम्बार
एक लघु–विश्रामपछि,
केवल ‘सहयोग’ को स्वार्थ राख्नेलाई समेत
घाइते पार्दै र मार्दै ।

भयले पक्षघात पार्छ र मार्छ
सिरियालीलाई एलेप्पोमा
सकिंदैन अब धेरै बेर पर्खन
एक लघु–मौनता वा विश्रामलाई
सबै विस्फोट र बैरीलाई ।

तिनले भाग्नु छ टाढासम्म
जानु छ धेरै पर
मृत्यु र रक्तस्नानको
हिंस्रक आक्रोशदेखि
जसले सताइरहेको छ तिनको मुलुकलाई
दमनकारीको हातबाट ।

तर, जीवनका लागि लामो संघर्षपश्चात्
के तिनको स्वागतका लागि
कुनै सिमाना खुला छ ?

(फिलिपिनो कवि एलिजावेथ फिडेलो ओडिसनको ‘एलेप्पो, सिरिया’ शीर्षक कविताको भावानुवाद । उनको यो कविता पोइम हन्ट डटकमले गत वर्ष फेब्रुअरीमा ५ मा प्रकाशित गरेको थियो ।)

सायद एलिजावेथ फिडेलोले झन्डै एक वर्षअघि यो कविता लेखिरहँदा एलेप्पो सहर घाइते हुँदो हो । मुलुकभित्र र बाहिरका शक्तिबीच टकरावको मूल्य शिशुहरूले चुकाइरहेका हुँदा हुन् । अनि फिडेलोको मल पग्लिँदो हो र शब्दहरू आँसु बनेर पोखिँदा हुन् । ‘क्रस–कल्चरल’ कार्यकर्ता फिडेलोको मन महसुस गर्न तिनले उतारेका शब्दहरू नै काफी छन् र, त्यसभन्दा पनि महत्त्वपूर्ण छन्—लाखौं एलेप्पोबासीका दर्दनाक कथा ।
एलेप्पो अहिले पनि तिनको कवितामा जस्तै बम र बारुदसँग बाँचिरहेको छ । शक्ति समूहको स्वार्थका टकरावमा सिरिया आफ्नो ढाड भाँचिरहेको छ । जसका निम्ति बाहिरी मात्र हैन, भित्री शक्तिहरूसमेत आ–आफ्नै स्वार्थको बहकाउमा उद्वेलित छन् ।
सिरिया, जो बनेको छ युद्धको पर्याय । जहा बर्सन्छन् हर दिन बम, गोला र बारुदहरू । भूमध्यसागरीय वायुको प्रभावले अरब भूमि पार गरी मध्यएसिया हुँदै हाम्रै घर आँगनमा हिउँ पार्दै गर्दा, त्यही सागरसँग जोडिएको सिरियामा भने अनिश्चितताको कालो बादल मडारिरहेको छ । अनि ध्वस्त हुँदै छन् हरेक सहरहरू । र, बन्दै छ ‘नर्कको पर्याय’, वानकी मुनले एलेप्पोलाई नर्कको पर्यायवाची भनेझैं ।
द्वन्द्व, युद्ध र गोलाबारुदको पर्याय भएको सिरिया सभ्यताको केन्द्र हो । एलेप्पो, दमास्कसजस्ता सहर विश्व मानव सभ्यताको सुरुवाती स्थानमध्येका हुन् । प्राकृतिक तेलको भण्डारका साथ कसैले सिरियालाई सम्झन्छ भने त्यहाँको पुरातात्त्विक धरोहरका लागि नै सम्झन्छ । भूमध्यसागरको पूर्वी सिमानासँग जोडिएको सिरियाले पश्चिमतर्फ लेबनान र इजराइललाई छुन्छ । उत्तरमा टर्की, पूर्वमा इराक र दक्षिणमा जोर्डनसँग जोडिएको सिरिया समुद्र तटीय पर्वतमालायुक्त सुन्दर मुलुक हो ।

अरब वसन्तको वाछिटा
६ वर्षअघि ट्युनिसियाबाट सुरु भएको अरब वसन्तको वाछिटाले सिरियालाई पनि रुझाउन पुग्यो । विशेष गरी युवाहरू ४० वर्षदेखि निरंकुश सत्ता चलाइरहका बसर अल असद समूहविरुद्ध एकाकार हुन थाले । सामाजिक सञ्जालको उपयोग गर्दै उनीहरूले विश्वभर आफ्नो सन्देश पुर्‍याए । दमास्कसका सडकहरू ‘जनताको इच्छा : निरंकुश शासनको अन्त्य’ को नाराले गुन्जायमान भए । शान्तिपूर्ण रूपमा सुरु भएको असद सत्ताविरुद्धको आन्दोलन हिंसात्मक बन्दै गयो । असद सरकारले प्रदर्शनकारीमाथि गोलीको वर्षा गर्‍यो । संकटकालीन कानुन लगाएर जनताका सबै अधिकार खोसियो । प्रदर्शन र त्यसमाथिको दमन बढ्दै गयो । घाइते हुने र मारिनेको संख्या उकालो लाग्दै गयो ।

लोकतान्त्रिक व्यवस्थाका लागि भएको शान्तिपूर्ण आन्दोलनमाथि दमन बढ्दै गएपछि अमेरिकाले सिरियाली सरकारमाथि प्रतिबन्ध घोषणा गर्‍यो । सुरुमा असद र उनको सरकारका ६ अरू उच्च अधिकारीविरुद्ध प्रतिबन्ध लगाइएको थियो । असद सरकारको दमन शृंखला रोकिएन । त्यसको प्रतिउत्तरमा अमेरिका, युरोप र संयुक्त राष्ट्रसंघ मात्र होइन, उसकै छिमेकी अरब मुलुकहरूसमेत असद सत्ताको विपक्षमा उभिन पुगे । साउदी अरब, बहाराइन, कुवेतले दमास्कसबाट आफ्ना राजदूत फिर्ता बोलाए । अमेरिकी राष्ट्रपति ओबामाले सिरियामाथिको प्रतिबन्धलाई थप कडा पार्दै अमेरिकामा रहेको सबै सिरियाली सम्पत्ति ‘फ्रिज’ गरे, अमेरिकी कम्पनी र नागरिकलाई सिरिया जान रोक लगाइयो । अमेरिकी प्रतिबन्धसँगै राष्ट्रसंघले सिरियालाई मानवताविरुद्ध अपराध गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्‍यो ।

२०११ को अक्टोबरमा सबै प्रतिपक्षीहरू मिलेर सिरियाली राष्ट्रिय परिषद् गठन गरे । उनीहरूको सामूहिक लक्ष्य असदको बहिर्गमन थियो । कुनै बेला सिरियाको निकटतम साझेदार टर्किले परिषद्लाई अनुमोदन गर्दै असद सत्ताविरुद्ध लडिरेहको ‘स्वतन्त्र सिरियाली सेना’ लाई सैन्य क्याम्प चलाउन सहयोग गर्‍यो । नोभेम्बरमा असदले अरब लिगसँग नरसंहार रोक्ने, प्रतिपक्ष्ँसँग वार्ता गर्ने र सडकबाट सेना फिर्ता लिने प्रतिबद्धता जनाए । तर, उनले त्यसविपरीत आक्रमण र नरसंहार बढाउँदै लगे । प्रतिउत्तरमा अरब लिगले संगठनको इतिहासमै पहिलो पटक आफ्नो सदस्यबाट सिरियालाई हटायो । लिगले सिरियामाथि नाकाबन्दी लगायो । साउदी अरबका राजा अब्दुल्लाहले असदलाई तत्कालै आफ्नो कदमबाट पछि हट्न अनुरोधसमेत गरे । यी सबै विकासक्रमलाई असद सरकारले बेवास्ता गर्‍यो ।
सरकारी फौजमा कार्यरत हजारौं सेनासमेत स्वतन्त्र सिरियाली सेनामा प्रवेश गरे । विद्रोहीद्वारा गरिने हमलाले तीव्रता पायो । २०११ को अन्त्यमा राष्ट्रसंघले सिरिया गृहयुद्धमा फस्न लागेको चेतावनी दिएको थियो । सिरियाली सरकारले आफ्ना नागरिकमाथि जारी राखेको दमन र अमानविय कार्य अन्त्य नभए मुलुक पूर्ण गृहयुद्धमा फस्ने उसको निष्कर्ष थियो । राष्ट्रसंघ र अरब लिगको प्रयासका बाबजुद सिरियामा मानवताविरोधी अपराध रोकिएन । युद्ध चर्कंदै गएपछि २०१२ को फेब्रुअरीमा अमेरिकाले सिरियाको दूतावास बन्द गर्‍यो ।

फब्रुअरीमै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सिरियामा हिंसा अन्त्य र राष्ट्रपति असदलाई सत्ता छाडेर उप–राष्ट्रपतिलाई पद हस्तान्तरण गर्ने एवं सहमतिको सरकार बनाउने प्रस्ताव गरेको थियो । सुरक्षा परिषद्का स्थायी सदस्यमध्ये चीन र रुसले भिटो लगाएर प्रस्ताव पारित हुनबाट रोके । त्यसले सिरिया संकटमा विश्व शक्ति राष्ट्रहरू ध्रुवीकृत छन् भन्ने मात्र देखएन, मानवताका लागि समेत तिनिहरू एक हुँदैनन् भन्ने संकेत गर्‍यो । सुरक्षा परिषद्ले प्रस्ताव पारित गर्न नसकेकै भोलिपल्ट राष्ट्रसंघको महासभामा प्रस्तावकै पक्षमा बहुमत भोट खस्यो । प्रस्तावको पक्षमा १ सय ३७ र विपक्षमा १२ भोट मात्र खसेको थियो । यद्यपि यो बाध्यकारी थिएन, केवल असद सरकारको बेइज्जती मात्र थियो ।

युद्धकै बीच २६ फेब्रुअरी २०१२ म असद सरकारले नयाँ संविधानका लागि जनमतसंग्रहको घोषणा गर्‍यो । ९० प्रतिशतले नयाँ संविधानलाई समर्थन गरेको सिरियाली सरकाले घोषणा गर्‍यो, जसलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले ढोङको संज्ञा दिए । नयाँ संविधानले राष्ट्रपतिका लागि ७–७ वर्षको दुई कार्यकाल तोक्यो ।

मार्चमा राष्ट्रसंघले पूर्वमहासचिव कोफी अन्नानको शान्ति तथा युद्धविरामसम्बन्धी प्रस्तावलाई अघि बढायो । सुरक्षा परिषद्मा भिटो लगाएका चीन र रुसले समेत त्यसमा समर्थन जनाए । असदले समर्थन गरेपछि पहिलो पटक सिरियामा युद्धविराम भयो । तर, युद्धविरामकै बेला हौला भन्ने स्थानमा १ सय १० जना मारिएपछि यसले गति लिन सकेन । असदले आतंककारी हमला भएको बताए भने संयुक्त राष्ट्रसंघले सरकारले निर्दोषलाई मारेको आरोप लगायो ।

गृहयुद्धको दलदल
अरब वसन्तको वाछिटासँगै बढेको द्वन्द्वले सिरियालाई बिस्तारै गृहयुद्धमा तान्दै लग्यो । नि:शस्त्र नागरिक मारिने क्रम बढ्दै गयो । जुन २०१२ मा राष्ट्रसंघले तथ्य पत्ता लगाउने आफ्नो मिसनसमेत बन्द गर्दै सिरियालाई गृहयुद्धग्रस्त मुलुक घोषणा गर्‍यो । त्यसै महिना सिरियाले टर्कीको सैन्य विमानलाई खसाल्यो । पहिले सिरियाको साझेदार टर्कीले विद्रोहीलाई समर्थन गर्न थाल्यो ।

असदको सत्तामा त्यस बेला हलचल मच्चियो जब जुलाई १८, २०१२ मा राष्ट्रिय सुरक्षा मुख्यालयमै बम खस्यो । मन्त्रीहरू र वरिष्ठ सुरक्षा अधिकारी सामेल बैठकमा बम खसेपछि असदका एकदमै विश्वासिला रक्षामन्त्रीसमेत मारिए । त्यसै महिना सरकारी फौज र विद्रोहीबीच दमास्कस र अलेप्पोमा घमासान लडाइँ भयो । अलेप्पोमा मात्र २ लाखभन्दा बढी घर छाड्न बाध्य भए । सरकारी फौजले देखाएको दमन र क्रूरतालाई विश्वले नै दोस्रो विश्वयुद्धपछिको सबैभन्दा क्रूर कार्यका रूपमा चर्चा गर्‍यो ।

गृहयुद्ध चर्कंदै जाँदा विद्रोही गुरिल्ला समूहमा मुसलमान जिहादी हावी हुँदै गए । अल कायदाले विद्रोहीलाई आर्थिक तथा हतियार सहयोग गर्न थाल्यो । प्रतिपक्षी विद्रोही समूह बिस्तारै सुन्नी अतिवादी समूहको पकडमा पर्न थाल्यो । जसको लडाइँ अब सरकारसँग मात्र सीमित रहेन सिया र सत्तासीन अल्विट समूहविरुद्धसमेत सोझिन थाल्यो ।

असद र उनको समूहले प्रतिनिधित्व गर्ने अल्विट समूह पनि सिया मुसलमानभित्रकै एउटा जातीय समूह हो । जसले सुन्नी बहुल सिरियामा चार दशकअघिदेखि एकछत्र शासन गर्दै आएको छ । सिरिया सरकार र विद्रोहीबीच चर्कंदो युद्धका कारण संयुक्त राष्ट्रसंघका विशेष दूत बनेका कोफी अन्नानले राजीनामा दिए । अगस्ट ६ मा प्रधानमन्त्री रियाद फरिद हिजाव र अरू दुई मन्त्री विद्रोहीलाई समर्थन गर्ने भन्दै जोर्डन पुगे ।

सिरियाको यृहयुद्धले छिमेकीहरूलाई समेत असर गर्न थाल्यो । विशेषगरी टर्कीलाई समस्या पर्दै गयो । टर्कीले सिरियासँग युद्ध नचाहेको तर आफ्नो सीमा सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने चेतावनी दियो । साउदी अरब र कतारले विद्रोहीलाई सहयोग गर्न पठाएका हतियार जिहादीका हातमा पर्न थाले । विद्रोहीको कब्जा अतिवादीको हातमा पुगेपछि विद्रोहीले पनि अन्तर्राष्ट्रिय समर्थन गुमाउने खतरा बढ्दै गयो ।

विद्रोहीभित्रको विद्रोह
सरकारविरोधी संघर्षमा रहेका विभिन्न समूहले सिरिया राष्ट्रिय परिषद् गठन गरेका थिए । नोभेम्बर २०१२ मा मुलुकभित्र रहेका युवा नेताहरू मिलेर सिरिया राष्ट्रिय गठबन्धन गठन गरे । यसका नेता शेख अहमद मोज अल खतिबले असदसँग सम्झौता गर्न इच्छुक रहेको बताएका थिए । फ्रान्स र टर्कीले नयाँ समूहलाई तत्कालै मान्यता दिए भने अमेरिकाले डिसेम्बरमा । अमेरिकाले विद्रोहीलाई आर्थिक र हतियार सहयोग जारी राख्यो ।

फेब्रुअरी २०१३ मा अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको भ्रमण गरेर प्रतिपक्षी सिरियाली स्वतन्त्रता सेनालाई ६० मिलियन डलर सहयोग दिने प्रतिबद्धता जनाए । उनले यो हतियारका रूपमा नभई औषधि, खाद्यान्न र सुरक्षा पूर्वाधार विकासमा हुने बताएका थिए । मार्चमा प्रतिपक्षी गठबन्धनले घसान हिट्टोलाई प्रधानमन्त्रीको रूपमा चयन गर्‍यो । हिट्टो सिरियामा जन्मिएका अमेरिकी थिए ।

प्रधानमन्त्री चुनिएपछि उनी टर्कीको सीमामा आएर विद्रोहीलाई साथ दिन थाले । उनले मन्त्रिपरिषद् गठनको जिम्मेवारी पाएका थिए । विद्रोही समूहका धेरैले हिट्टोको चयनको विरोध गरे । गठबन्धनका अध्यक्ष शेख आफैंले समेत राजीनामा दिए । जसले प्रतिपक्षी गठबन्धन टिक्न सक्ला कि नसक्ला भन्ने चिन्ता पश्चिमी मुलुकहरूलाई पर्न थाल्यो । विद्रोहीभित्रै विवादका बीच मार्चमा भएको अरब लिगको बैठकमा शेखले सिरियाको प्रतिनिधित्व गरे ।

अप्रिल २०१३ मा अल कायदा सँग जोडिएको अतिवादी समूह इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस) को जन्म भयो । विदेशबाट आएका जिहादीहरूले यो समूहलाई बलियो बनाउँदै लगे । यो समूहले विद्रोहीको कब्जामा रहेका सिरियाका उत्तरी भूभाग कब्जा गर्दै गयो । आईएसआईएस जन्मनुको एउटा मुख्य कारण सिरियाका विद्रोही समूहबीचको फाटो र तिनमा अतिवादीहरू हाबी हुँदै जानु पनि एक थियो ।

सेक्टेम्बर २०१३ मा ११ वटा विद्रोही समूहले गठबन्धनलाई आफूहरूले नचिन्ने बताएका थिए । उनीहरूले पनि मुसलमान सरिया कानुनलाई नै अघि बढाउने घोषणा गरे । त्यसले आईएसआईएसलाई फैलिन मद्दत गर्‍यो ।

रासायनिक हतियारको राज
अप्रिल २०१३ मा इजराइलका एक गुप्तचर विश्लेषकले असदले रासायनिक हतियार प्रयोग गरेको दाबी गरे । उनले आफूसँग यसका प्रमाण भएको बताएका थिए । उनलाई पछ्याउँदै फ्रान्स र बेलायतले पनि विद्रोहीले नेतृत्व गरेका दमास्कस, एलेप्पो र होम्समा असदले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाए । अमेरिकाले सुरुमा इजराइली दाबीबाट आफूलाई टाढै राख्यो ।

सद्दाम हुसेनले रासायनिक हतियार बनाएको खबरका आधारमा आक्रमण गरेको अमेरिकाले सिरियाको विषयमा भने पहिले आफू विश्वस्त हुन चाह्यो । असदले सानो मात्रामा भए पनि रासायनिक हतियार प्रयोग गरेको प्रमाणित भएपछि भने अमेरिकाले विद्रोहीलाई दिने सैन्य सहयोग बढायो । तर, विद्रोहीले मागजस्तो हवाई हतियार भने प्रदान गरेन । इजराइलले भने दमास्कसलाई ताकेर क्षेप्यास्त्र हान्यो । उसले लेबनानी हिज्बुलाहलाई सिरियाले थप हतियार उपलब्ध नगराओस् भन्नका लागि उसको सैन्य भण्डारणमा क्षेप्यास्त्र हानेको गर्‍यो ।

अगस्ट २०१३ मा प्रतिपक्षले असद सरकारले रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगायो । विद्रोहीले सार्वजनिक गरका तस्बिरहरूमा मुखबाट फिज निकालेर निधन भएका मानिसहरू देखिन्थे । रासायनिक हतियारबाट १ हजारभन्दा बढी मानिस मारिएको विद्रोहीको दाबी थियो । रासायनिक हतियारको प्रयोगलाई अमेरिकासहित अरू मुलुकले अमानवीय घटनाका रूपमा लिए । विद्रोहीले आरोप लगाएको घटना संयुक्त राष्ट्रसंघीय टोली रासायनिक हतियार निरीक्षण गर्न आएकै बेला भएको थियो । टोलीले घटनास्थलाबाट नमुनाहरू संकलन गर्‍यो ।

रासायनिक हतियार प्रयोग भएको पाइएपछि अमेरिकी राष्ट्रपति ओबामाले सीमित आक्रमण गरी सिरियाको मुख्य सैन्य शक्तिलाई समाप्त गर्ने रणनीति अघि सारे । सुरक्षा परिषद्मा चीन र रुसले समर्थन नगर्ने भएकाले उनले यस्तो प्रस्ताव अघि बढाएका थिए । त्यसका लागि उनले संसदीय अनुमोदन खोजे । ओबामाको योजनालाई फ्रान्स र बेलायतले समेत समर्थन गरेका थिए । तर, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले संसद्बाट यो प्रस्ताव पारित गराउन सकेनन् ।

ओबामालाई पनि धेरैले कूटनीतिक तवरबाटै समस्या समाधान गर्ने सुझाव दिए । त्यसैलाई पछ्याउँदै अमेरिकाले राखेको प्रस्तावमा रुसले सहयोग गर्ने प्रतिबद्धता जनायो । रुसको प्रतिबद्धतापछि सिरियाले आफूसँग रासायनिक हतियार भएको स्विकार्न बाध्य भयो । राष्ट्रसंघको अनुगमनमा सिरियाले सबै रासायनिक हतियार नष्ट गर्ने प्रक्रिया अघि बढ्यो ।

असदको निर्वाचन
गृहयुद्धबीच जुन ३, २०१४ मा असद सरकारले राष्ट्रपति निर्वाचन गर्‍यो । ८९ प्रतिशत भोट ल्याएर असद विजयी भएको घोषणा गरियो । सरकारी नियन्त्रण भएको स्थानमा मात्र भएको मतदानलाई विद्रोही र प्रतिपक्षले बहिष्कार गरेका थिए । ओबामासहित पश्चिमाहरूले यो चुनावलाई अवैध भनेका थिए । चुनावपछि असदले आन्दोलनमा सहभागी भई जेल परेकाहरूलाई माफी दिने घोषणा गरे । तिनले जेलबाट मुक्ति पाए पाएनन् भन्नेचाहिं सिरियाले हालसम्म खुलाएको छैन ।

मानवीय संकट
६ वर्षदेखि जारी गृहयुद्धले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो मानवीय संकट निम्त्याएको छ । हालसम्म कसैले पनि यत्तिकै संख्यामा मानिस मारिए भन्न सक्ने स्थिति छैन । धेरैले ५ लाखभन्दा बढी मारिएको तथ्यांक निकालेका छन् । अन्तर्राष्ट्रिय सहायता संस्थाहरूका अनुसार करिब १० लाख घाइते र अंगभंग भएका छन् । सिरियाको कुल जनसंख्याको आधा अर्थात् १ करोड २० लाखभन्दा बढी मानिसले घर छाडेर ज्यान जोगाउन हिंडेका छन् ।

छिमेकी मुलुकहरू लेबनान, टर्की, इराकमा मात्र होइन, सिरियाली शरणार्थीहरू युरोप र अमेरिकासम्म पुगेका छन् । युरोपेली संघमा समेत सिरियाली शरणार्थीको विषयले बेलाबेला तातो बहस ल्याउने गर्छ । युरोपेली संघबाट बेलायत बाहिरिने विषयमा भएको जनमतसंग्रहमा समेत सिरियाली शरणार्थीले युरोपमा पार्न सक्ने भूमिकाले केही हदसम्म प्रभाव पारेको देखिन्छ ।

अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार ५ सिरियाली शरणार्थीमध्ये ४ बालबालिका वा महिला छन् । सिरिया छाडेर बाहिरिएकामध्ये एक प्रतिशतभन्दा पनि कमले मात्र अर्को मुलुकमा स्थायी बसोबास गर्ने अनुमति पाएका छन् । ५० लाखभन्दा बढी सिरियाली शरणार्थी टर्की, लेबनान, जार्डन, इराक र इजिप्टमा मात्र छन् । सिरियामै रहिरहेका १ करोड ३५ लाखभन्दा बढीलाई तत्कालै मानवीय सहायताको जरुरी रहेको छ ।

साम्प्रदायिक संघर्ष
सिरियाको साम्प्रदायिक संघर्षले गृहयुद्धलाई मलजल गरिरहेको छ । यहाँभित्रका भिन्न–भिन्न समूहबीचको प्रतिस्पर्धा र लडाइँमा बाह्य शक्तिको सहयोगका कारण गृहयुद्धले सबैभन्दा खराब रूप लिएको हो । अल्पसंख्यकहरूले असदको सरकारलाई मन पराउँछन् । असद स्वयं र ‘रुलिङ एलिट’ अल्विट समूहबाट प्रतिनिधित्व गर्छन् । यो सिया मुसलमानकै एक सम्प्रदाय हो । यो समूहको पकड विशेषगरी सिरियाको सैन्य निकायमा छ ।

सत्तामा यो समूहको कब्जा भए पनि सिरिया भने सुन्नी मुसलमान बहुल मुलुक हो । विद्रोही समूहहरू पनि सुन्नी मुसलमान समूहका छन् । यही सिया–सुन्नीको लडाइँमा अरू मुलुक पनि मिसिन पुगेका छन् । सिया भएकै कारण इरान, इराक र लेवनानको हिज्बुल्लाह समूहले असदलाई सहयोग गरिरहेको छ भने सुन्नी भएकै कारण टर्की, कतार र साउदी अरेबियाले विद्रोहीलाई सहयोग गरिरहेका छन् ।

साम्प्रदायिक लडाइँका बीच विदेशी शक्तिराष्ट्रको पौंठेजोरी खेल्ने थलोसमेत बनेको छ सिरिया । लोकतान्त्रिक शासन स्थापनाका लागि भन्दै अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनले सुरुदेखि नै सिरियाली विद्रोहीलाई सहयोग गर्दै आएको छ । त्यही सहयोगबाट बनेको विद्रोही समूहबाटै विकास भएको अतिवादी समूह आईएसआईएसले गर्दा अमेरिकासहित गठबन्धनको निद्रा हराएको छ । आईएसआईएसको गतिविधि बढ्दै गए पनि २०१४ देखि नै अमेरिकाले सिरियामा रहेको यसका केन्द्रहरूमा बम खसालिरहेको छ ।

सिरियामा अमेरिकी आक्रमणको प्रतिउत्तर रुसले पनि दिन सुरु गरेको छ । सेप्टेम्बर २०१५ देखि रुसले पनि सिरियामा हवाई हमला गर्न सुरु गरेको हो । रुसले आईएसआईएसलाई मात्र होइन असद सरकारविरोधी विद्रोहीलाई समेत लक्षित गर्दै आक्रमण गरिरहेको छ । रुसको साथमा इरान छ भने अमेरिकी साथमा टर्की । सिरियाको आन्तरिक लडाइँ अन्तर्राष्ट्रियकरण हुँदा अहिले शक्तिराष्ट्रहरू सिरियामा छद्मयुद्ध लडिरहेका छन् ।

राष्ट्रसंघ र अरू निकायको मध्यस्थतामा पटक–पटक भएका युद्धविराम तोडिएका छन् । सरकार र विद्रोही, साम्प्रदायिक र विश्व शक्तिबीचको छद्म युद्धका शृंखलामा मारिंदै छन् हजारौं निर्दोषहरू । बाँचेर भाग्नेहरूका लागि पनि खुला छैनन्— कसैका ढोकाहरू, एलिजावेथले कवितामा भनेझैं ।

-बिष्णु पोख्रेक /कान्तिपुरबाट

२६ पुष २०७३

x

Check Also

४० लाखदेखि ७५ लाखसम्म खर्च गरेर अमेरिका हिडेका ३०० नेपाली मेक्सिकोमै अडकिए

महिनौ लगाएर हवाई, स्थल र जलमार्ग हुँदै  त्यहाँ पुगेका हुन् चन्द्रशेखर अधिकारी अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय ...