ताजा अपडेट

फिरंगी मिथक ‘नसकटापुर’ : नाक काटिएको घटना कति सत्य कति असत्य ? सौरभको गहकिलो लेख


एकातिर २७ पुस अर्थात् पृथ्वी जयन्ती, अर्कोतिर कम्युनिष्टको खोल ओढेर साम्प्रदायिकतावादी र विखण्डनवादीहरूले उनीहरू कीर्तिपुरमा हार्नै सक्दैनन् भनी बनाएको धारणाको मूलजरो हो, पृथ्वीनारायणका समयमा त्यहाँ नाक काटिएको प्रसंग । यो लेख त्यसैको सन्दर्भमा छ ।

सुनिजान्नेको यथार्थ- एक

क) ‘कीर्तिपुरलाई हराउँदा गोरखालीहरूलाई भएको हैरानीको झ्वाँकमा उनीहरूले समातिएका सबै पुरुषको नाक काटिदिए । भरियाहरूमध्ये उल्लेख्य संख्याको नाक नभएको देखेर यसको कारण पत्ता लगाउनतर्फ हामी लागेका थियौं’

(ककपेट्रिक, सन् १७९२) ।

ककपेट्रिकले जान्न चाहेको कारणका मूल स्रोत हुन् पादरी जिस्सेपी, जसले कीर्तिपुरमा भएको घटनाबारे लेखे (एसियाट्रिक रिसर्च, खण्ड २, पृ.३१५), तर कीर्तिपुर युद्धको २५ वर्षपछि । त्यसमाथि त्यो घटना उनी आफैंले पनि देखेका होइनन्, पादरी माइकल एञ्जेलोले दिएको बयानलाई टिपेका हुन् ।

विडम्बना यहीँनिर छ । किनभने एञ्जेलो र जिस्सेपी नै हुन्, जसलाई पृथ्वीनारायण शाहले नेपालबाटै निकाले । निकालिएका जम्मा ६२ जनामध्ये थिए, यी दुई । त्यो कुरा जिस्सेपी आफैंले पनि त्यस बयानमा लेखेका छन् । फलस्वरुप जिस्सेपीको फट्याइँपूर्ण आक्रोश उनकै लेखमा यस्तो छ- म कीर्तिपुरमा १७६९ मा पुग्दा ज्ञानप्रजाले अनेक मानिसलाई झुन्ड्याइरहेको देखेँ । सन् १७६८ मा काठमाडौं जितेर गोरखालीहरू पाटनतिर लागे ।

सन् १७६९ मा कीर्तिपुरको घटना देख्न पुगेर १७६८ मा काठमाडौं जितेको देख्न पुग्ने जिस्सेपीलाई आफ्ना पूर्वजन्महरूबारे पनि पक्कै थाहा थियो होला । किनभने काठमाडौं १७६८ मा जितियो र कीर्तिपुर त्योभन्दा अघि नै १७६६ मा । उनले भनेका ज्ञानप्रजा अरु कोही नभएर जयप्रकाश हुन्, पृथ्वीनारायण शाहको निम्ति हार्डी हाँडीसाहेब भएजस्तै ।

ख) जिस्सेपीको अर्को नमुनालायक वाक्य छ, कीर्तिपुर नामक करिब आठ हजार घरहरू भएको ठाउँ । त्यस्तो हो भने त्यो बेलाको संयुक्त परिवार प्रथाअनुसार एक घरबराबर न्युनतम दस सदस्य मान्ने हो भने पनि त्यहाँ असी हजार जनसंख्या हुनुपर्‍यो ।

तर उनीभन्दा पछिका एक लेखक (हेमिल्टन १८०३) लेख्छन्- मेरो अनुमानमा कीर्तिपुरको जनसंख्या ६ हजार होला । समकालीन अर्थशास्त्री टमस माल्थसको जनसंख्या सिद्धान्तअनुसार हरेक पच्चीस वर्षमा जनसंख्या दोब्बर हुन्छ । यसरी जाँदा सन् १७६६ मा कीर्तिपुरको जनसंख्या हुन आउँछ, बाइस सय पचासमात्र । अब वृद्ध, महिला, बालबालिका छाडेर युद्धयोग्य जनसंख्या हुन आउँछ, एक चौथाइ अर्थात् पाँच सय साठीजना ।

अर्का लेखक (ओल्डफिल्ड १८५०) लेख्छन्- कीर्तिपुरको जनसंख्या होला पाँच हजार । माल्थसको सिद्धान्तअनुसार त्यतिबेला जनसंख्या हुन आउँछ, ६ सय ५० बाट केही बढी ।

अर्थात् युद्धयोग्य एक चौथाइ भन्नाले करिब एक सय पैंसठ्ठी । अर्का लेखक (डेनियल राइट १८६७-१८७७) लेख्छन्- कीर्तिपुरको जनसंख्या होला, चार

हजार । माल्थसको सिद्धान्त लागू गर्ने हो भने जनसंख्या नै हुन आउँछ, दुई सय पचास । युद्धपुरुष हुन आउँछन्, जम्मा त्रिसठ्ठीजना ।

यसरी जिस्सेपी एक नम्बरका सुनिजान्ने देखिन्छन् ।

सुनिजान्नेको यथार्थ- दुई

क) डेनियल राइट लेख्छन्- ती नाकहरूको तौल १७ धार्नी (करिब असी पाउन्ड) थियो । जम्मा ८६५ जनाको नाक काटिएको थियो । पहिलो कुरा त यो अंक कथित घटनाको एक शताब्दीपछि दिइएको छ । दोस्रो कुरा सत्र धार्नीबराबर असी पाउन्ड हुँदैन । ०.४१८रु२.२०४ पाउन्डको हिसाबले ८९.६७७ पाउन्ड हुन्छ ।

यो अशुद्धि किन भएको हो भने विसं १८९८ मा एक स्थानीयले बनाएको टिपोटमा ८६५ जना मानिसको नाकको कुल तौल बाह्र धार्नी एक सेर छ तोला लेखिएको थियो । अनि विसं १८३५ मै बुद्धिमानसिंह बस्नेतले बनाएको अर्काे टिपोटमा सत्र धार्नी एक सेर लेखिएको थियो । उनले दुवै टिपोटको ‘फ्युजन’ गरेको स्पष्टै छ ।

एक व्यक्तिको नाकको तौल बीसदेखि पच्चीस ग्राम हुन्छ । पच्चीस ग्राम नै मानौं, एक धार्नीबराबर २.३९३ किलोग्रामको हिसाबले सत्र धार्नीबराबर ४०.६८१ किलोग्राम नाक हुन आउँछ, जसको अर्थ हो १६२७ जनाको नाक काटियो, जो ८६५ को करिब दोब्बर छ । यसरी धार्नी, पाउन्ड, ग्राम, संख्या माथि कतै मिलेका छैनन् । यसलाई भन्छन्, ढाँटेको कुरा काटे पनि मिल्दैन ।

यही नमिलेको कुरालाई एडेन भेन्सिटार्टले खुरुखुरु १८८९ मा सारे झन्डै एक सय बीस वर्षपछि, जसलाई धेरै विद्वानहरू साभार गर्छन् ।

ख) त्यस्तो किन भएको हो भने ल्यान्डन (१९२३) ले लेखेका छन्- घटना जिस्सेपीले देखेका थिए । तर जिस्सेपी स्वयम् भन्छन्- उनी आफू त्यहाँ १७६९ मा पुगेका थिए । र यो घटना १७६६ को हो ।

भेन्सिटार्ट ‘सप्रमाण’ लेख्छन्- आदेश पालनाको प्रमाणका रूपमा नाकहरू देखाउन पृथ्वीनारायण शाहकहाँ लगियो । तर जिस्सेपीले नै पृथ्वीनारायण शाह त्योबेला कीर्तिपुरमा नभएर नुवाकोटमा भएको लेखेका छन् । त्यसमाथि अहिले थानकोटमा त्रिभुवनको शालिक रहेको ठाउँलाई धेरै पछिसम्म नाय द्वों -नाकको ढिस्को) भनिन्थ्यो र आगन्तुकहरूलाई देखाइन्थ्यो भनी एक कीर्तिपुरवासी (पासा) ले लेखे ।

नुवाकोटमा बसेर दुई दिन टाढाको युद्धभूमिमा नाक काट्ने विना प्रमाणको आदेश दियो भन्नु नै तिनलाई बदनाम गर्ने सक्दो कोसिस हो । यथार्थ के हो भने त्यत्रो संग्राम र सन्त्रासका बेला कसले बटुल्ने ? कसले गन्ने ? कसले जोख्ने ? त्यसमाथि मानिसका काटिएका अंग-प्रत्यंगहरूलाई स्वास्थ्यकर्मी र पोडेबाहेक कसैले छुँदैन । अझ कसले आफ्नो तराजुमा जोख्न दिने ? यी सबै गफै हुन् । यिनले भूपी शेरचनलाई पुनः प्रमाणित गर्छन्- यो हल्लै-हल्लाको देश हो । यहाँको जग उधिनेर हेरे पनि हल्ला भेटिन्छ ।

समकालीन विश्व

सन् १७६९ अर्थात् उपत्यका सर भएकै वर्ष हैदरावाद राज्य र बि्रटिसहरूबीच युद्ध हुँदा नाकहरू काटिए । यो घटना सन् १७९९ सम्मका चारवटा मैसुर युद्धसम्म कायम रह्यो । तर सन् १७९२ का कर्कपेटि्रक पनि त्यो उल्लेख गर्दैनन्, १९२३ का ल्यान्डन पनि लेख्दैनन् । आफ्नै बि्रटिसहरूको त्यो कृत्यप्रति आँखा चिम्लिने ती पृथ्वीनारायण शाहको खेदो गर्नमात्र आतुर छन् ।

१६७० मा मुगलहरूले बिजापुरसँग युद्ध हुँदा नै गाउँलेहरूको नाक काटेका थिए । १८७६ मा बल्गारियनहरूले टर्किस सिपाहीहरूको नाक काटेका थिए । इस्तान्बुल र्फकेपछि सुल्तानले दिएका चाँदीको नाक हालेर गौरवसाथ ती सडकमा हिँड्थे । मैसुर र मदुराई राज्यबीच भएको सन् १६५६ को युद्धमा सिपाहीका नाकमात्रै होइन, जुँगासहितको ओठ काटेर झोलामा सिंगै हाल्न मिल्ने अस्त्र नै विकसित गरिएको थियो । गनेर सिपाहीले पुरस्कार पाउँथ्यो । यस्ता घटना पृथ्वीभरि प्रशस्त छन् ।

अरु त अरु, १५९२-९८ बीचको युद्धमा जापानले १ लाख ८५ हजार ७ सय ३८ कोरियाई र २९ हजार १४ चिनियाँ गरी २ लाख १४ हजार ७ सय ५२ को नाक काटेर त्यसलाई जापान पुर्‍याई जुन ढिस्कोमा गाडेर मन्दिर बनायो, त्यसलाई भन्छन्, हानाजुका (नाकेडाँडो) । पासाको नाय द्वोंको सुषुप्त मनको डाँडो यही हानाजुका हो, नकि थानकोटको यथार्थ । यो हाना र थान मिल्न पनि गएको छ ।

-यो प्रवृत्तिलाई अलि विस्तार गरौं ।

उपत्यका विजय गरेपछि मल्ल भारदारहरूलाई एउटा भोजमा निम्त्याई आगो लगाइयो भनेर दस कक्षालाई इतिहास पढाउने हैसियत नभएका (माणिकलाल)हरू लेख्छन्- यस्तो घटना अवश्य भएको हो । तर रोमानियाको बालिचिया राज्यमा ।

कहिले चन्द्रशमशेर राणाको नाम लिएर तिनले हामी किरातका तीस हजार किताब जलाइदिएकाले हाम्रो इतिहास नभएको हो भन्ने पढ्न पनि पाइन्छ । यो भएको घटना हो, तर त्यो पात्र चन्द्रशमशेर होइन, सि ह्वाङ ती हो । चन्द्रशमशेरले गरेको भए हनुमानढोकाको चौध भाषाको शिलापत्र तिनले किन नखुर्केको हो ? र अभिलेखालयमा नेवारी भाषाका त्यत्रा पाण्डुलिपिहरू किन पाइएका हुन् ?)

यसरी एन्जेलो, जिस्सेपी, कर्कपेटि्रक, हेमिल्टन, राइट, ओल्डफिल्ड, भेन्सिटार्ट गरी सात अंग्रेजले पृथ्वीनारायण शाहलाई हरतरहले गिराउन भारी कसरत गरे । यद्यपि कर्कपेटि्रकले आफ्ना भरियाहरूलाई देखेर दिएको जानकारीलाई त्यसै नकार्न सकिँदैन ।

सन् १७९२ मा क्याप्टेन नक्सको पछि लागेर उनी आउँदा कति बाकस सामान थियो भनेर अंक उनले दिएका छैनन् । यसैले भरिया संख्याको अनुमान गर्न सकिन्न । कति बाहेक भने दुई जनालाई दस-दस बाकसको छुट दिने हो भने भरिया संख्या बीस हुन आउँछ । ७५ प्रतिशत भरियाको नाक थिएन ठान्ने हो भने पन्ध्र जनाको थिएन । यति पन्ध्र जनाकै आधारमा साराको नाक काटियो भन्ने अवस्था बन्दैन ।

नभन्दै ललितावल्लभ अज्र्यालले विसं १८२६ मै कीर्तिपुर घटनाका सन्दर्भमा एउटा संस्कृत शब्द प्रयोग गरे- ‘कांश्चित् ।’ यसको अर्थ हुन्छ, केही व्यक्तिको । बाबुराम आचार्यले २०२२ सालमा आइपुगेर बाह्र-पन्ध्र जनाको नाक काटिएको भनेर गरेको निक्र्योलको आधार यही नै हुनुपर्छ ।

अर्थात् कथित नसकटापुरको घटना विश्वको पहिलो र अन्तिम वा एउटै घटना थिएन । त्यो विश्वभरि नै युद्धकालमा चलिआएकै मध्येको तर अत्यन्त सीमित घटना थियो । अंग्रेजहरू स्वयम् त्यस्ता कुरामा सामेल थिए ।

लिन बेनेटले ‘डेन्जरस वाइभ्स एन्ड स्याकर्ड सिष्टर्स’मा खडा गरेकी काल्पनिक गाउँ ‘नारिकोट’ र जेम्स फिसरले ‘हिमालयन ट्रेडर्स’मा खडा गरेको काल्पनिक गाउँ ‘तरंगपुर’को प्रेरणा नेपाली मानवशास्त्रीय लेखनमा विहारीकृष्ण श्रेष्ठले कर्णाली लोकसंस्कृतिमा खडा गरेका काल्पनिक थलो ‘दियार गाउँ’ हुनुपर्छ भन्ने लाग्थ्यो । तर होइन रहेछ । जिस्सेपीले यसरी कीर्तिपुरलाई नसकटापुर नाउँ दिएर अरुका देशमा घुसपैठ गरी त्यसमा छेद हाल्ने प्रेरणा उतिबेलै दिएर गएका रहेछन् ।

फिरंगी जासुसको आशंकामा निकालिएका (जुन एडेन भेन्सिटार्ट ‘नोट्स अन नेपाल’मा स्वीकार गर्छन्) र सिन्धुलीमा हारेर चुर भएका इसाई इतिहासकारहरूले त्यसलाई पृथ्वीनारायण शाहविरुद्ध भयानक प्रोपगान्डाको सामग्री बनाए । जति मात्रामा नाक काटियो, त्यसमा तिनीहरूले आफ्नै नाकहरू पनि थप्दै र जोड्दै गए । कान्तिपुर पुस २६, २०७०बाट

२५ पुष २०७३

x

Check Also

पृथ्वीनारायण शाहको मृत्युको रहस्य के हो ? उनका तस्बीर कसले बनायो ? अति पुरानो स्केचसहित

१ – पृथ्वीनारायण शाहको मृत्यु नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते ...